ताजा अपडेट

गुमनाम कमरेड सपनाको मनछुने कथा!!

“सुजन जी म ठगिएँ ! पटक पटक ठगिएँ !! त्यसदिन पाखुरामा लाग्ने गोली किन मेरो छातीमा लागेन ? शहीद बन्न बाट ठगिएँ , आफ्नै भन्नेहरु बाट ठगिएँ , हुँदा हुँदा आफ्नै जीवन सँग ठगिएँ । म हारेँ । आफ्नै जीवन सँग हारेँ ।’ सकि नसकि बोल्दा बोल्दै भक्कानिई उ । उसकी छोरी घोप्टो परेर घुँक्क घुँक्क रुन थाली”

मध्यान्हको चर्को घामले तातेको थियो काठमान्डौ । प्रदर्शनकारीको नारा जुलुसले उस्तै तातेको थियो रत्नपार्कको सडक । दिनहुँ जस्तो कुनै न कुनै प्रदर्शन भइरहने रत्नपार्कमा त्यस दिन पनि खै के को बिरोध प्रदर्शन थियो उति सारो वास्ता गरिँन मैले । न्यूरोड बाट बानेश्वर कोठामा फर्कदै थिएँ । प्रर्दशनकारीले खचाखच भरिएको रत्नपार्कको सडक बिस्तारै खाली हुँदै थियो । सडक किनारामा वाईक रोकेर एक नजर प्रदर्शनकारी तर्फ मिल्काएँ ।

‘दाई खानुुस है मकै तात्तातो । मुलपानीको मकै ।’

सडक किनारा बाट एउटी अधबैँशे आईमाईले मेरो ध्यानाकर्षण गराई ।
हातमा पोलेको मकैको थाली थियो । के के मकैको बिज्ञापन गर्दै थिई उ । बर्षौ पुरानो र मैलो शरिरको कपडा, कुपोषणले हाड छाला मात्र शरिरमा कुनै रस रंग बाँकी थिएन । र पनि मलाई चिन्न कुनै गाह्रो भएन । उ डेढ दशक अघि की चिर परिचित सेक्सन कमाण्डर कमरेड सपना थिई । नतमस्तक थिएँ म यत्तिका बर्ष पछि गुमनाम कमरेड सपनाको अबस्था देखेर । झट्ट बोलाउने हिम्मत नै आएन । कालो चश्मा र हेलमेट ले शायद चिन्न सकिन उसले । ट्राफिकको सिट्ठीले झस्किएँ म । वाईक अगाडी बढाएँ । सडक खाली भईसकेको थियो । उ पनि मकै बोकेर भीडमा अलप भईसकेकी थिई ।
कोठामा पुगेपछि झलझली पुराना यादहरु आईरहे । कमरेड सपना एक अत्यन्त जुझारु, शाहसी चलेको नाम हो एकताका उसको ।
‘सपनाको जस्तो शाहस हुनुपर्छ ।’ २०६२ सालमा सिरहाको बन्दिपुर लडाँई बाट फर्कदा वटालियन कमिशारले उसको प्रशंसा गरेको याद मलाई अझै ताजै थियो । पाखुरामा गोली लागेको थियो उसलाई । लडाँई नजीति फर्कन अस्विकार गरेकी थिई उसले । किन किन उसको शाहस प्रति डाह हुन्थ्यो हामी केहि युवालाई ।

त्यतिले रोकिएन उसको प्रशंसा । सिन्धुलीको आम्बोटेमा लडाँईको समिक्षा थियो । पूर्वि डिभिजनका कमाण्डर कमरेड अनन्तले समेत उसको नाम लिए पछि एकाएक चर्चित भई उ । इख थियो हामीलाइ कुनै दिन कमाण्डरको मुखबाट सपनाको भन्दा अघि आफ्नो नाममा प्रशंसा बटुल्ने ।

उमेरले केहि बर्ष म भन्दा जेठी नै लाग्थी उ । शारिरिक हिसाबले परिपक्व, पातली, साधारण उचाई, कृतिम सुन्दरता बाट हजारौ माईल टाढा तथापि नराम्री भने थिईन । त्यसो त सुन्दरताको परिभाषा नै बेग्लै थियो उसको । ‘रुप हैन कमरेड सार हेर्नुस ।’ फेमस थियो कुनै समय उसको यो डाईलग हामी युवा माझमा । उसो त जनवादी विवाहका लागि उसलाई प्रशस्त प्रस्ताबहरु आएकै थिए । सँधै अस्विकार गरिरहि उसले । मन नपर्ने कुराहरुको डटेर प्रतिरोध गर्नु, आफ्ना समस्याहरु खुलस्त राख्न सक्नु, सिद्धान्त प्रति प्रतिबद्ध, लडाँईमा अदभूत शाहस नै उसका सुन्दरता थिए ।

समकालिन महिला छापामारहरुमा त अब्बल नै थिई सपना । हामी पुरुषहरु सँग प्रतिस्पर्धा गर्थी सैनिक गतिविधिहरुमा । कतिपय स्थानमा उसले जित हात पार्दा हीनताबोध हुन्थ्यो हाम्रो पुरुषत्वमा । अनि उसलाई हराउन अनेक चालबाजी गथ्र्यौ हामी ।

शान्ति प्रक्रिया शुरु भएपछि उपचारको लागि लामो समय काठमान्डौ नै बसि । त्यसपछि फर्किन उ । भगौडाको सुचिमा थियो उसको नाम । गणतन्त्र आएपछि गुमनाम भई सपना । डेढ दशक पछि आकस्मिक देखिएको उसको फरक रुपले मनमा अनेक कौतुहलता हुनु स्वभाविक थियो । उसलाई भेट्न त्यति सजिलो थिएन । भेटेर उसको डाईलग सम्झाउन मन थियो ।

कति पटक रत्नपार्कका सडक पेटीहरु नियालेँ । काठमान्डौ का चोक चोकका सडक पेटीहरुमा कतै छे की भनेर हेर्न कुनै कसर बाँकी राखिँन । आधुनिक संचार संजालमा भेटिन्छे की भनेर फेसबुकमा नाम सर्च गरेँ । हजारौ सपनाको भीडमा कमरेड सपनाको कुनै तस्विर देखा परेन ।

झण्डै एक महिना पछि वीर हस्पिटल अघि फुटपाथमा एउटा उपन्यास खोज्दै थिएँ । नजिकै देखा परि उ । हतार हतार एउटा पुरानो झोलाबाट सामानहरु निकालेर सडकपेटीमा धमाधम लेआउट गर्दै थिई । पुस्तकवालाले पर सर भनेर गाली गर्दै थियो । डटेर प्रतिरोध गर्दै थिई । त्यो त उसको पुरानो बानी रहँदै रहेछ । छिनभरमै लेआउट सकेर कराउन थाली उ ।

‘ताजा ताजा निगुरो सस्तो कागती मात्र बिस रुपैया मात्र ।’
नियालेर हेरिरहेँ म । पुरानो चप्पल, फाटेको उसको कुर्कुच्चा, पुरानै कुर्था सुरुवाल, राम्रोसँग कोरीबाटी नगरेको लट्टा परको कपाल, हाडलाई छालाले मात्र छेकेको उसको अस्थिपञ्जर, अनुहारमा लामखुट्टे बस्दा चेप्टिएर मर्ला जस्तो मुजाका रेखीहरु, पिर्लिक्क पिर्लिक्क उहि आँखाहरु घुमाई रहन्थी सडकपेटीको दाँया बाँया ।
कुनै आकर्षण बाँकी थिएन शरिरमा । पातली त त्यसबेला नी उ पातली नै थिई । तर उतिबेला मिलेको शरिर थियो । मोटाउनु र दुब्लाउनु बिचको अन्तर भने धेरै हुँदोरहेछ । शायद कसैलाई उसको उमेर अनुमान गर्न लगाएको भए मेरी आमाको उमेर बराबर भन्ने थियो ।

प्रष्टै थियो उसको पाखुराको खत । दुनियाँलाई उसको खतको कुनै प्रवाह थिएन । कसैले बुझ्ने प्रयास गरेन होला खत भित्रको इतिहास । कसैले बुझेन त्यो गणतन्त्रको निशानी । विडम्बना सपनाहरुले लडेर ल्याएको गणतन्त्रमा सपनाका सपनाहरु नै गुमनाम भईसकेका थिए । उसको स्थान सडक पेटी भन्दा माथी थिएन । सडकमा धुलो उडाएर दौडने चिल्ला गाडीबाट गणतान्त्रिक मन्त्रिहरुले सपनाहरुलाई सडक पेटीमा देख्ने कुरै भएन ।

केहि छिनमै उसले सय डेढ सय को बेच्न भ्याई सकेकी थिई । सडक पेटीमा कोही कपडाका पोका बोकेर दौडदै थिए । हत्तपत्त झोलामा प्याक गर्न थाली उ । मैले केही बुझिन । नगर प्रहरीको गाडी रोक्कियो अगाडी । नगर प्रहरी झरेर जबर्जस्ती ताने उसको झोला । उ पनि कहाँ छोड्थी र त्यसै हड्डिको बल निकालेर तानी । झोला च्यातिएर कागतीका दानाहरु लडे सडकमा । छरिएको निगुरो टिपेर नगर प्रहरीले कोच्यो गाडीमा अनि हुँईकियो अगाडी । ट्वाल्ल परेर सडकमा गुडेका कागतीका दानाहरु हेर्दै थिई उ । चिल्लो सडकमा गुडेका उस्तै चिल्ला गाडीले किचिमिचि पार्दै अगाडी बढे ।

कसैलाई अनोैठो थिएन यो दृष्य । उ आफै पनि यसमा अभ्यस्त भईसकेकी थिई । मलाई भने असहज लागिरहेको थियो । कागती सँगै सडकमा सपनाका सपनाहरु किचिएका थिए । जुन व्यबस्थाको लागि उसले रगत बगाएकी थिई, जीवनको उर्बर उमेर खर्च गरेकी थिई त्यहि व्यबस्थामा सडकपेटीमा पनि ठाँउ पाइन उसले ।

म किंकर्तव्यविमुढ उभिरहेको थिएँ । पराजित अनुहार बोकेर उ लुसु लुसु बाटो लागी ।

‘सपना कमरेड’ उहि पुरानै शैलीमा पछाडीबाट बोलाएँ मैले । पछाडी फर्केर उ झस्किई । शायद चिन्न सकिन । मैले माक्स खोलेँ ।

‘सुजन कमरेड, तपाँई ।’ उसको भर्खरैको उदास अनुहार मा उहि पुरानै मुस्कान देखापर्यो । बसन्तको पत्झड रुख झै सिक्रे लाग्थी उ । उसको मुस्कानमा कुनै रस रंग बाँकी थिएन ।

‘म अघि देखि तपाँईलाई नै नियालीरहेको थिएँ ।’ मैले भनेँ ।

मेरो शीरदेखि पाउ सम्म नजर डुलाईरहेकी थिई उ । उसको असहजता सजिलै बुझ्थेँ म । उसले शहरमा देख्ने सुकिला मुकिलाहरुकै श्रेणीमा थिएँ म । त्यस माथी उसको भर्खरैको घटनाको साक्षी थिएँ ।

‘तपाँइ त अझै उस्तै हुनुहुँदोरहेछ । यतिका बर्ष पछि नि जस्ताको तस्तै ।’ सम्हालिँदै बोली उ ।

‘रुप हैन कमरेड सार हेर्नुस ।’ मैले उसको पुरानो डाईलग सम्झाइदिएँ । फिस्स हाँस्दै जवाफ दिई उसले ।

‘अव रुपको मलाई के काम ?’
काठमान्डौ महल अघि क्याफेमा दुई कप कफि अर्डर गरेँ मैले । असहज महशुस गर्दै थिई उ । शायद क्याफेमा देखिने सबै सुकिला मुकिला जोडी सँग आफ्नो तुलना गरि उसले ।

‘सुजन जी जीवन सोचेजस्तो भएन । युवा उमेरमा बोकेका सपनाहरु सबै गुमनाम भए । गुमनाम म आफैं बाँच्नलाई बाँचिरहेकी छु ।’ आँखाभरी टिल्पिलाए उसका आँशु । मानौ धेरै बर्ष पछि उसले दुख बिसाउने चौतारी भेट्टाएकी छे ।

वेटरले कफि राख्यो उ निरन्तर बगिरहि ।
‘जीवनका दुखहरु बयान गरेर साध्य नै छैन । धन नभएपछि पार्टीमा पनि कुनै स्थान नै रहेन । जीवन नै संघर्ष रहेछ । उतिबेला सपनै सपनाका भारी बोकेर युद्धमा होमिएकी थिएँ । यतिबेला हातमुख जोर्नका लागि संघष गरिरहेकी छु । साथमा दुई छोरीको पालन पोषण र शिक्षा दिक्षा को बोझ छ उठाउनै नसकिने । तिनै छोरीको लागि अहोरात्र खटिरहेकी छु । भाडामा लिएको जग्गामा उत्पादन भएका तरकारीहरु बेच्न सडकमा सँधै यस्तै संघर्षको सामना गरिरहेकी छु । बिचौलियाले उचित मुल्य दिँदैनन् । फेरि आफ्नो रोजगारी पनि त अरु केहि छैन ।’

मैले कफि लिन इशारा गरेँ । हातमा कप उठाएर सडकमा मार्चिङ्ग भईरहेको सैनिक टुकडी तर्फ तिरस्कृत नजर फाल्दै टिप्पणी गरी उसले ।

‘शाही सेना देख्दा अहिले पनि झस्किन्छु म । हिजो अस्ति पनि सपनामा म यिनीहरुसँग लडेको थिएँ ।’ फेरि भावुक भई उ ।

साँच्चै कस्तो मनोविज्ञानमा बाँचिरहेकी थिई उ । शान्ति प्रक्रिया शुरु भएको पन्ध्र बर्ष बिति सक्दा पनि उसको समकालिन छाप बदलिन सकेको थिएन । यतिका बर्ष पछि नि तत्कालिन युद्धको भयको मनोविज्ञान ले ग्रसित थिई उ ।

‘तर यिनीहरु शाही सेना होईनन् नी । यी त नेपाली सेना हुन । गणतन्त्र आएपछि रहेन शाही सेना ।’मैले कटाक्ष गरेँ ।
‘गरिवका छोराछोरी हामी एक आपसमा दुश्मन भयौँ । ठूल्ठूला देखाएका सपनाहरु सत्ताका भर्याङ्ग मात्र रहेछन ।’ खै के के सोचेर गम्भिर भई उ तर उसमा चरम निराशा र कुण्ठा भने प्रष्ट थियो ।

‘अनि पाखुराको गोली झिक्नु भो त ?’ केहिछिनको मौनतालाई चिर्दै मैले सोधेँ ।

‘गोली झिकेपछि एक महिना हस्पिटल नै बसेँ । थाहा छ तपाँइलाई दुई बर्ष पाखुरामा बोकेको त्यो गोली झिकेपछि मैले माला बनाएर छोरीलाई लगाइदिएकी छु । ता की ठुली भएपछि उसले थाहा पाओस् मेरो पनि गणतन्त्रमा लगानी छ । अनि सजाएर राखोस गणतन्त्र को निशानी ।’ गर्व थियो यतिबेला उसमा । म भनेँ भावुक भएँ ।

‘सुजन जी, अन्तरजातिय विवाह फापेन मलाई । साह्रै संकिण रहेछ उसको परिवार । आफ्नो परिवार नै बदल्न नसक्नेहरुले खै कसरी संसार बदल्ने सपना देखे । परिवारले स्वीकार नगरे पछि यतै केहि गर्ने सोच्यौँ । पोहोर साल उसले आफ्नै जातकी केटी भगाएर गयो । त्यसपछि रहेन हाम्रो सम्बन्ध । काखमा सानी छोरी चेपेर मैले गर्न सक्ने अरु केही थिएन । पेट पाल्नकै लागि अनि मैले तरकारी उत्पादन र ब्यापार शुरु गरेँ । यस्तो व्यापारले छोरीहरु पढाउन र पेट भर्न गाह्रो छ यतिबेला । छोरीहरुको बोर्डिङ्गको फि तिर्न सकेकी छैन । कोठामा ग्याँस सकिएको छ यतिबेलै । सडकमा दुई चार पैसा हुन्थ्यो अब यस्तो छ हालत । धोकै धोका भयो जिन्दगी । अब हरेश खाईसकेँ जीवन सँग ।’ उसले लामो सास फेरि ।

पर्सबाट हजारका दुईवटा नोट झिकेर थमाएँ मैले ।

‘धेरै धेरै धन्यवाद । तपाँइको यो ऋण सकेँ भने चाँडै तिर्ने कोशिस गरौँला ।’ उसले भनि ।

‘पर्दैन तिर्न । यो मेरो सहयोग हो तपाँइलार्ई । बरु केहि समस्या पर्यो भने मलाई कल गर्नु सकेको सहयोग गरौँला ।’ कागजको टुक्रामा मैले मोवाइल नम्वर टिपेर दिएँ ।

‘सपना बिद्रोही, फेसबुक अकाउन्ट छ मेरो ।’ क्याफेबाट निस्कँदै गर्दा उसले भनि ।

झण्डै एक हप्ता पछि न्युरोड गेटमा देखा परि उ । अफिसियल डे«समै थिएँ म । वाईक नजिकै लगेर हर्न बजाएँ । शुरुमा त साँच्चै मेरो ड्रेसले तर्सिइ उ । मलाई चिनेपछि भने उसको आश्चर्यको सिमा रहेन । समकालिन उसको हाराहारीको कमरेड म यो रुपमा देखिनु उसको सोचाई भन्दा धेरै टाढा थियो । यसपटक डोकोमा थियो उसको ब्यापार । ब्यस्त थियो सडक अनि सडकपेटीमा डुलुवा बिक्रेता र क्रेताहरु बिच जारी थियो बार्गेनिङ्ग ।

लामो समय भई सकेको थियो काठमान्डौ का सडक पेटीमा कमरेड सपना लाई नदेखेको । शायद अव ब्यवसाय परिवर्तन गरि होली त्यहि सोचेँ । मैले दिएको नम्वरमा कल गरिन उसले । क्याफे बाट छुट्दा फेसबुक आई डी त दिएकी थिइ तर लामो समय देखि नै अपडेट थिएन । उसको वालमा अरुले ट्याग गरेको बाहेक केहि थिएन नयाँ । कहाँ गएर के गर्दै होली ? यत्तिको समय देश लक डाउन हुँदा कसरी घर व्यवहार चलाईरहेकी होली खुल्दुली थियो मलाई ।

लक डाउन केहि खुकुलो थियो । भाई सूर्य खड्काको ब्रेन ट्युमर को अप्रेशन पश्चात थेरापी हुँदै थियो भक्तपुर क्यान्सर हस्पिटलमा । हस्पिटलको बेडमा स्वास्थ्य अबस्था बारे कुरा गर्दै थिएँ भाई सँग । साइडको बेडमा अचानक ठोक्कियो मेरो नजर कमरेड सपना सँग ।

“अरे सपना कमरेड तपाँइ यहाँ ?’ म आश्चर्य चकित थिएँ क्यान्सर हस्पिटलको अप्रत्यासित भेटले ।
उ केहि बोलिन । साइडमा उभिएकी थिइ उसकी छोरी । चिन्न गाह्रो थिएन । प्रस्टै थियो उसको गलामा झुण्डिएको फाईभ पइन्ट फिफ्टी सिक्स एम एम को गणतन्त्रको निशानी ।

‘फोक्सोमा क्यान्सर भएछ उहाँलाई । महिनौ देखि हस्पिटलमै हुनुहुन्छ ।’ भाईले नै बतायो मलाई ।

‘फोक्सोमा क्यान्सर !’ अड्किए मेरा शब्दहरु । झल्झली पुराना यादहरु आईरहे । एक जमानाकी कमरेड सपना सबैको लागि आदर्श पात्र थिई । शरिरमा गोली बोकेर लड्ने शाहस गर्थि । गोलीलाई जितेकी उ अव प्राणघातक रोग सँग हार्दै थिई ।

‘सुजन जी म ठगिएँ ! पटक पटक ठगिएँ !! त्यसदिन पाखुरामा लाग्ने गोली किन मेरो छातीमा लागेन ? शहीद बन्न बाट ठगिएँ , आफ्नै भन्नेहरु बाट ठगिएँ , हुँदा हुँदा आफ्नै जीवन सँग ठगिएँ । म हारेँ । आफ्नै जीवन सँग हारेँ ।’ सकि नसकि बोल्दा बोल्दै भक्कानिई उ । उसकी छोरी घोप्टो परेर घुँक्क घुँक्क रुन थाली ।

‘तपाँइ हार्ने मान्छे होइन । हिम्मत नहार्नुस् ।’ मैले सान्त्वना दिएँ । उबेला कतिपटक उसको हारको कामना गर्ने म अन्तिम पटक उसको जीतको कामना गरिरहेको थिएँ ।

बेहाल थियो हस्पिटलमा उसको । चिन्तित थियो उसलाई रुँघिरहेको उसको भाई । थपिँदै थियो दुईवटी भान्जीहरुको बोझ । मृत्युलाई कुरेर बसेकी थिई उ । अव उपचार हुने आशा थिएन उसलाई । उसको हाड छालाको अस्थिपञ्जर अव सुन्निन थालिसकेको थियो । रोग एउटै भए पनि वर्गिय धरातल अनुसार घाट सम्मको यात्रा पनि अघि पछि हुनेरहेछ । हस्पिटलको दृष्यले त्यहि पुष्टि गर्दै थियो ।

मैले सिनियर चिकित्सक सँग उसको अबस्थाबारे बुझ्ने प्रयास गरेँ । विपन्न परिवारका लागि उपलब्ध एक लाख सम्मको उपचार सुबिधाले धानेको त्यति रहेछ । आर्थिक अभावले भएनछ थेरापी । तत्काल थेरापी गराउन सके केहि समय बाँच्ने सम्भाबना मात्र देखाउनुभयो उहाँले ।

निराश थिएँ म एउटा सहकर्मीको दुखान्त यात्राबाट । नदुखेको टाउको जोड जोडले दुख्न शुरु गरेको थियो हस्पिटलको त्यो दृष्यले । साँझ खाना खान मन लागेन । एउटा सिटामोल खाएर बेडमा ढल्किएँ । अनेक प्रश्न मनमा उब्जिरहे ।

सपनाहरुले ल्याएको कस्तो गणतन्त्र यो ? जहाँ सपनाहरु उपचार नपाएर मृत्यु कुरिरहेका छन् । पटक पटकका गणतान्त्रिक सरकारहरु राज्यकोष बाट ब्रहम् लुट गरिरहेका छन्, बिलासी गाडी चढिरहेका छन अनि करोडौँको गलैँचा फेर्दैछन ।

केहि साथीहरुलाई फोन गरेर सपनाको अबस्था बारे अबगत गराएँ । तत्काल उपचारको लागि सहयोग संकलन गर्ने सल्लाह भयो । साथीहरुकै पे्ररणाले केहि हौसला मिल्यो ।

‘जवसम्म गुमनाम सपनाहरु अगाडी आउने छैनन् तबसम्म फक्रने छैन यो गणतन्त्र । सन्तानको माया आमा बुवालाई जति अरुलाई हुनै सक्दैन । कमरेड सपनालाई केहि समय भए पनि बचाउनै पर्दछ । सपनाका सपनाहरु किचिमिचि पारेर गुमनाम पारे पनि इतिहाँस साक्षी छ उ गणतन्त्रकी सक्कली जननी हो । जुन घरमा आमाको सम्मान हुँदैन त्यो घर नर्क बराबर हुन्छ । अहँ हामी यो घरलाई नर्क बनाउन दिने छैनौँ ।’

फेसबुक को वालमा पोष्ट तयार गरेँ मैले । सहयोगी मनहरु जुटाउन हस्पिटलमा खिचेको सपनाको फोटो राखेँ । अभाव थियो मलाई सपनाको सबैले चिन्ने पुरानो फोटोको । झट्ट याद आयो ‘सपना विद्रोही’ उसको फेसबुक अकाउन्ट ।

एउटा स्थानीय नेताले रातो तारावाला कम्ब्याट लगाएको सपनाको फोटो सहित भर्खरै ट्याग गरेको थियो ।

‘हार्दिक श्रद्धाञ्जली कमरेड सपना !’

बेकार भयो मेरो प्रयास । अब रहिन सपना । अधुरो नै रह्यो मेरो कर्तब्य । उ अव यो स्वार्थी दुनियाँ बाट बिदा भईसकेकी थिई । एउटी गुमनाम सपना को दुखद अन्त्य मात्र थिएन यो । एउटी शाहसी लडाकु, युगले जन्माएकी वीरङ्गानाको अपमान थियो । उसैले जन्माएको गणतन्त्रको उपहास थियो ।

कमेन्ट बक्समा श्रद्धाञ्जलीका फूलहरु थपिँदै थिए । एकजना गणतन्त्रको भरपुर फाईदा लिएका मन्त्री ज्यू ले समेत श्रद्धाञ्जली दिन भ्याईसक्नु भएको थियो ।

‘गणतन्त्रकी सारथी कमरेड सपनालाई गणतन्त्रले बिर्सने छैन । सपनाका सपनाहरु हामी मर्न दिने छैनौँ । हार्दिक श्रद्धाञ्जली कमरेड सपना ।’

श्रद्धाका फूल चढाउँदा पनि पाप लागोस तिनिहरुलाई जसले जीवनभर मात्र सपनालाई ठगेनन् । मृत्यु पश्चात पनि ठगिरहेका छन । सम्हालिनै सकिन म । टाउको फुट्ला जस्तो भो मेरो । एउटा सिटामोल फेरि थपेँ । झल्झली उहि नमेटिने यादहरु आईरहे । तिनै यादहरु समेटेर हजारौ गुमनाम सपनाहरुमा समर्पित ‘गुमनाम सपना’ लेख्न शुरु गरेँ ।

( लेखक तत्कालीन जनमुक्ति सेना नेपालको कमाण्डर हुनुहुन्छ)

प्रतिक्रिया दिनुहोस