ताजा अपडेट

बारुदमाथि उड्दा!!रुकुमको खारा आक्रमणको त्यो दिन।

पुस्तक अंश
ककपिटबाट बाहिर ओर्लिने अवस्था थिएन। फोर्स र एम्युनिसन झारेर, घाइतेलाई हेलिकप्टरमा राख्दै गर्दा मैले ककपिटबाटै बाहिर नजर घुमाएँ। त्यहाँ लासहरू छरिएका थिए। हृदयविदारक अवस्था थियो। केही घाइते सुरक्षाकर्मी बोकेर म पुनः मुसिकोट एयरपोर्ट फर्किएँ।

‘हिजो साँझदेखि सुरु भएको दोहोरो भिडन्त अझै रोकिएको छैन। माओवादीतर्फ धेरै हताहत भएको अनुमान छ। संख्या भने यकिन भइसकेको छैन’, टेलिफोनमा हतास, उदास र बेचैन आवाज सुनियो।

‘हँ, के रे !’ भन्न नपाउँदै त्यो टेलिफोन एकसासमै बोल्यो, ‘क्याप्टेन सा’ब ! खारामा माओवादीले ब्यारेक कब्जा गर्ने भए, तुरुन्त थप सैन्य जनशक्ति लिएर उद्धारमा जानुपर्ने भयो !’

२०६१ चैत २६ गते एकाबिहानै तारन्तार बजेको टेलिफोनको घण्टीले मेरो निद्रामात्रै होइन, चैन पनि भंग गरिदियो। काठमाडौं, सिनामंगलस्थित घरमै थिएँ, म।

शाही नेपाली सेनाको ११ नम्बर बाहिनी, फ्लाइट अपरेसन युनिटका प्रमुख सेनानी दीपक कार्की टेलिफोनमा भन्दै थिए, ‘घाइतेहरूको उद्धार, थप सैन्यशक्ति र एम्युनिसन (हतियार, गोलीगठ्ठालगायत बन्दोबस्तीका सामग्री) को माग भइराखेको छ। तुरुन्त जानुपर्ने भयो।’

रूसमा निर्मित एमआई–१७ हेलिकप्टरको प्रशिक्षक (इन्स्ट्रक्टर) पाइलटका रूपमा म नेपाली सेनाका लागि काम गर्न पुगेको थिएँ। सरकारले माओवादी ‘जनयुद्ध’ नियन्त्रण र निस्तेज गर्न संकटकालको घोषणामार्फत सेना परिचालन गरेपछि विज्ञ पाइलटका हैसियतले सेनाको हवाई बाहिनीसँग जोडिएको थिएँ म।

सेनाका पाइलटहरूलाई तालिम दिने, सैनिक ब्यारेकहरूमा सैन्यशक्ति र एम्युनिसन ओसार्ने, भिडन्तस्थलबाट घाइते सेना÷प्रहरीको उद्धार गर्ने, मृतकहरू ओसार्नेलगायतका काममा सघाउन भनेर मलाई ‘नियुक्त’ गरिएको थियो।

त्यसअघि ‘जनयुद्ध’विरुद्ध सरकारले प्रहरीलाई मात्रै अघि सार्दा पनि म निजी क्षेत्रको हेलिकप्टर उडाएर त्यस्ता काम गर्थें। सेना परिचालन भएपछि एघार बाहिनीका बिग्रेडियर गुञ्जमान लामा, पाइलट मदन केसीलगायतले बेलाबखत सेनाका लागि पनि हेलिकप्टर उडाउन आग्रह गरिरहन्थे।

सेना परिचालन भएपछि प्रधानसेनापति प्यारजंग थापाको विशेष आग्रहमा २०५८ मंसिरपछि सेनाकै हेलिकप्टर उडाउन थालेको थिएँ।

लगातारको उडानका कारण थकित भई केही दिनदेखि काठमाडौंमै आराम गरिरहेको थिएँ। उडान नियमित हुँदाका समयमा प्रायःजसो नेपालगन्ज वा पोखरामा मेरो मुकाम हुने गर्थ्यो।

फ्लाइट अपरेसन युनिटका प्रमुख सेनानी दीपक कार्कीको टेलिफोनपछि म तत्कालै उद्धारमा जानका निम्ति रुकुमको खारातर्फ उड्न तयार भएँ।

सेनाको एउटा आरएन–३७ हेलिकप्टरको मेन गेयर बक्स ‘ओभरहउल’ गर्नुपर्ने थियो। त्यसैले मर्मत–सम्भारका लागि त्रिभुवन विमानस्थलमा ‘ग्राउन्डेड’ थियो। साधारणतया, मेन गेयर बक्सको आयु दुई हजार उडान घण्टा हुन्छ। तोकिएको घण्टा उडान सकेपछि मेन गेयर बक्स ‘ओभरहउल’ गर्नुपर्छ। त्यसै क्रममा उक्त हेलिकप्टर ‘ग्राउन्डेड’ थियो।

सामान्य अवस्थामा ‘ग्राउन्डेड’ हेलिकप्टर उडाउन मिल्दैन। आपत्कालीन वा विशेष अवस्थामा विज्ञहरूको अनुमतिपछि भने निश्चित घण्टा उडाउन अल्पकालीन निर्णय लिन सकिन्छ।

खारामाथि आक्रमण भएको दोस्रो दिन बिहान त्यस्तै विशेष अवस्था निम्तियो। थप सैन्यशक्ति लिएर उद्धारका लागि जानुपर्ने आवश्यकता देखिएपछि हवाई बाहिनीपति गुञ्जमान लामा, सोही बाहिनीका इन्जिनियर महासेनानी सन्तोष कार्की र ‘इन्सट्रक्टर पाइलट’ म गरी तीन जनाको समिति गठन भयो र उक्त समितिले बढीमा १० घण्टा उडाउन सकिने सिफारिस गर्‍यो। त्यसपछि ‘ग्राउन्डेड’ गरिएको सो हेलिकप्टर लिएर म उडेँ। साथमा थिए, को–पाइलट मेजर किरण थापा, फ्लाइट इन्जिनियर हीरालाल महर्जनसहितको प्राविधिक टोली।

काठमाडौंबाट महावीर गणका ३२ रेन्जर फोर्स र केही एम्युनिसन राखेर उड्दा बिहानको त्यस्तै ७ बजेको हुँदो हो। २१ जना क्षमताको उक्त जहाजमा ३२ जना र एम्युनिसन लोड गरेर हामी सोझै भैरहवा गयौं। त्यहाँ पनि थप केही रेन्जर र हातहतियार राख्यौं। त्यसपछि उडेका हामीले नेपालगन्जस्थित मध्यपश्चिम पृतनामा अवतरण गर्‍यौं।

खारा आक्रमणको रनाहाले नेपालगन्जस्थित मध्यपश्चिम पृतनालाई एक प्रकारको सन्नाटाले छोपेको थियो। यस्तो लाग्थ्यो, त्यहाँ हावासमेत बहनबाट टक्क रोकिएको छ। मौनता यस्तो छ, अफिसमा तारन्तार बजिरहेका टेलिफोनका घण्टीहरू चर्को माइकमा बजाइएका धुनजस्ता सुनिन्छन्। सैनिक अधिकारीहरूका अनुहारमा तनाव र निराशाका रेखाहरू प्रस्टै देख्न सकिन्छ। पृतनापति दीपकविक्रम राणा बिहानै सेनाको अर्को हेलिकप्टरबाट मुसिकोट उडिसकेका रहेछन्। त्यसैले पृतनामा उनीसित भेट हुन सकेन।

मुसिकोट एयरपोर्टमा अवतरण गरिसकेपछि दिउँसो सेनाकै सेटमार्फत उनीसित मेरो कुराकानी हुन सक्यो। उनी निकै हतास र निराशाको मनोभावमा थिए। उनले सेटबाटै भनेका थिए, ‘अब तपार्इंकै हातमा छ क्याप्टेन सा’ब, ‘ओभर रन’ हुनबाट बचाउनुस्।’

पृतनापति राणासँग कुराकानी हुनुअघि नेपालगन्ज छँदै गृहसचिव चण्डीप्रसाद श्रेष्ठ, प्रहरी प्रधान कार्यालयका एआईजी राजेन्द्रबहादुर सिंहसँग पनि मेरो टेलिफोन संवाद भएको थियो। धेरै क्षति भएको अनुमान गर्दै उनीहरू छिटोभन्दा छिटो सुरक्षाकर्मीको उद्धार गर्न जोड दिइरहेका थिए। यी सबै उच्च पदस्थ अधिकारीहरूले राखेको चासोबाट छनक पाइन्थ्यो, सरकारले खारा भिडन्तलाई ठूलो प्रतिष्ठाको विषय बनाएको छ।

कतिसम्म सुनिएको थियो भने चैत २६ गते बिहान राजा ज्ञानेन्द्रसमेत प्रधानसेनापति प्यारजंग थापालाई ‘खारामा सेनाले जसरी पनि जित्नुपर्छ, सेना के गरिराखेको छ ? ’ भनी कड्किएका थिए रे !

आक्रमणको मुख्य योजनाकार ‘जनमुक्ति सेना’का सुप्रिम कमान्डर पुष्पकमल दाहाल ‘प्रचण्ड’ स्वयम् थिए भने आक्रमणको मुख्य कमान्ड ‘मध्य डिभिजन प्रमुख’ नन्दकिशोर पुन ‘पासाङ’ र ‘पश्चिम डिभिजन प्रमुख’ जनार्दन शर्मा ‘प्रभाकर’ले गरेका थिए। पुन अहिले दोस्रोपटक संघीय लोकतान्त्रिक गणतन्त्र नेपालका उपराष्ट्रपति बनेका छन्। संघीय संसद्का सांसद शर्मा भने शेरबहादुर देउवा नेतृत्वको कांग्रेस–माओवादी गठबन्धन सरकारका गृहमन्त्री थिए। त्यसअघि ऊर्जामन्त्री भएका शर्माले शान्ति तथा पुनर्निर्माण मन्त्रीको जिम्मेवारी पनि निर्वाह गरिसकेका छन्।

माओवादीले ‘जनयुद्ध’कालमा आफ्नो छुट्टै सैन्य संरचना निर्माण गरेको थियो। सेनाले जस्तै ‘जनमुक्ति सेना’लाई मिलिसियादेखि डिभिजनस्तरसम्मको सांगठनिक संरचनामा परिचालन गरेको थियो। उसको दाबीअनुसार पूर्व, मध्य र पश्चिम गरी तीन डिभिजनको सैन्य संरचना थियो। त्यही तीनमध्ये दुई डिभिजनको सम्पूर्ण शक्ति केन्द्रीकृत गरी सेनाको खारास्थित सुरक्षा बेसक्याम्पमा आक्रमण भएको थियो, चैत २५ मा।

चैत २५ गते साँझ नपर्दै रुकुमको खारामा माओवादी छापामार र सेनाबीच भिडन्त सुरु भयो। माओवादीले खारा आक्रमणको अति गोप्य तयारी गरेको रहेछ, जसको भरपर्दो सूचना सेनासामु ढिलोगरी त्यसै दिन साँझपख मात्रै आइपुग्यो।

भिडन्तको दिन खारा सुरक्षा बेसक्याम्पमा खटिएका सेनाका एक अधिकारीले आक्रमणको वृत्तान्त यसरी सुनाएका थिए, ‘हामीले तीन दिन पहिले नै आक्रमणको सूचना पाएका थियौं र तयारी भइरहेको पनि बुझिन्थ्यो तर कहाँ र कति बेला गर्दै छन् भन्ने यकिन जानकारी थिएन। २५ गते दिउँसो स्थानीय सूचनास्रोतबाट बेलुका आक्रमण गर्दै छन् भन्ने बुझेपछि हामी एलर्ट बस्यौं र साँझपख गस्तीमा पनि निस्कियौं।’

‘गस्तीमा निस्किएको सेनाको टुकडीले खारातर्फ बढिरहेको माओवादी समूहलाई लामो दूरीका हतियारले हमला गरेपछि साँझदेखि नै भिडन्त सुरु भयो। माओवादी छापामारहरू खुम्चेटी डाँडा र गिद्धेडाँडाबाट लामो दूरीका हतियारबाट फायर खोल्दै अघि बढेको थिए। मुसिकोट गुल्मबाट खारातिर सहयोगका लागि ओर्लेको सुरक्षा फौज ठाउँठाउँमा राखिएका एम्बुसका कारण अघि बढ्न सकेन’, सेनाका ती अधिकारीले थपे।

जसै दिनको उज्यालोलाई अँध्यारोले निल्दै थियो, आक्रमणको पारो पनि त्यति नै उक्लँदो थियो। चारैतिरबाट माओवादी छापामारले खारा बेसक्याम्पलाई घेर्दै, विस्फोट गराउँदै अघि बढे। गोली र बम विस्फोटका आवाज अनि कोलाहल र चीत्कारले खारा रातभर रणभूमिमा परिणत भयो। छापामारले ८१ मोर्टार, जीपीएमजी, २ इन्च मोर्टारलगायत लामो दूरीका हतियारसमेत प्रयोग गरेका थिए। घाइतेकोे उद्धार गरेर फर्कंदा रातभर लडेका सैनिकहरू बताउँथे, ‘राति १० बजेपछि सेना र माओवादीबीच ‘क्लोज ब्याटल’ भएको थियो। माओवादी क्याम्पको एक नम्बर गेटबाटै ट्रेन्च खनेर भित्र आउन खोज्थे। हामी फायर खोलेर त्यहीं रोक्थ्यौं। रातभर प्रयास गर्दा पनि माओवादी ब्यारेकका तार काटेर भित्र छिर्न सकेनन्।’

सुरक्षा बेसक्याम्पमा सेना नेतृत्वको युनिफाइड कमान्डमा रहेका प्रहरीहरू १८ घण्टासम्म लगातार लडिरहेको ती घाइते सैनिकहरूको अवस्थाबाट थाहा हुन्थ्यो। राति १२ बजेपछि पहिलोपटक र बिहान ३ बजेतिर दोस्रोपटक खाराको आकाशमा नाइटभिजन हेलिकप्टर पुग्यो। ती भन्थे, ‘नाइटभिजनले तोराबोरा हानेर फर्केपछि गोली हानाहानको क्रम केही मत्थर भयो तर रोकिएन। बिहान उज्यालो हुँदै गर्दा पनि दोहोरो हानाहान जारी थियो।’

अंग्रेजविरद्व नालापानी युद्धमा बलभद्र कुँवरले अपनाएको रणनीति माओवादीले प्रयोग गरिसकेको थियो। खारा क्याम्पभित्र जाने मरु गाविसबाट ल्याइएको मुहानमा अवरोध गरेर १८ घण्टादेखि पानीको आपूर्ति बन्द गरिदिएको खबर बिहानैदेखि फैलिइसकेको थियो। रातभर लडेको सुरक्षा फौजलाई खाना, पानी, हतियार, गोलीगठ्ठा र थप सैन्यशक्तिको सहायता छिटो पुर्‍याउनु जरुरी थियो तथा घाइतेको उद्धार गर्नु अझै ठूलो मानवीय सहयोग थियो। त्यसकारण पनि ममा दबाब बढेको थियो।

खारा क्याम्पभित्र जाने मरु गाविसबाट ल्याइएको मुहानमा अवरोध गरेर १८ घण्टादेखि पानीको आपूर्ति बन्द गरिदिएको खबर बिहानैदेखि फैलिइसकेको थियो। रातभर लडेको सुरक्षा फौजलाई खाना, पानी, हतियार, गोलीगठ्ठा र थप सैन्यशक्तिको सहायता छिटो पुर्‍याउनु जरुरी थियो तथा घाइतेको उद्धार गर्नु अझै ठूलो मानवीय सहयोग थियो।
२६ गते बिहानैदेखि खाराको आकाशमा सेनाका हेलिकप्टरहरू उड्न थालिसकेका थिए। सेनाका पाइलट प्रतिज्ञा राणाको कमान्डमा एउटा एमआई–१७ ले बेसक्याम्पमा अवतरण गर्ने पटकपटक कोसिस गर्‍यो तर सफल हुन सकेन। राणा बडो सजग र सुझबुझसहित उडान भर्ने पाइलट हुन् र मेरा मिल्ने साथी पनि।

मध्याह्न नेपालगन्जबाट मुसिकोट उड्ने सुरसार गर्दै थिएँ, सेनाको एमआई–१७ मा गोली लागेको खबर आयो। बिहान मात्रै अर्को सानो जहाज ‘लान्सर’मा गोली लागेको खबर पाइसकेको थिएँ।

‘लान्सर’ मेजर सुवास थापाले उडाएका थिए। युद्धलाई लक्षित गरेर बनाइएको सानो हेलिकप्टर हो लान्सर; जहाँ दुवैतिर ‘गन’ तेर्स्याइएको हुन्छ।

मेजर थापाले जोखिम मोल्दै अवतरणको कोसिस गरेका रहेछन्। थप सहयोगका लागि गोली हान्दै, बम खसाल्दै ब्यारेकमा हेलिकप्टर अवतरण गर्न खोजे पनि उनी सफल हुन सकेनन्। बरु माओवादीले हानेको गोली लागेपछि ‘लान्सर’ पनि मुसिकोट ब्यारेक नै फर्किनुपर्‍यो।

करिब १ बजेतिर नेपालगन्जबाट म उडिसकेको थिएँ, उनीहरू रेडियो सेटबाटै सजग रहन आग्रह गरिरहेका थिए। भन्दै थिए, ‘माओवादीले लङ रेन्जका हतियार प्रयोग गरेका छन्। जोखिमपूर्ण छ, गोली लाग्न सक्छ। होस पुर्‍याउनुहोला।’

अर्को दिन डोल्पा दुनैका स्थानीय व्यापारीले एउटी बिरामी महिलालाई सुर्खेत पुर्‍याइदिन आग्रह गरे। त्यस दिन म प्रहरीलाई खाद्यान्न, एम्युनिसन आदि लिएर दुनै पुगेको थिएँ। ती व्यापारी प्रहरी र सेनाका लागि खाद्यान्नलगायतका आवश्यक सामग्री आपूर्ति गर्थे। उनीसँग आएकी महिला दुब्ली थिइन्। मैलो र पुरानो कपडा लगाएकी। सत्या पहाडी नाम गरेकी उनी माओवादी कार्यकर्ता रहिछन्।

सुरक्षाकर्मीले यो सब पत्तै पाएनन्।

माओवादी कार्यकर्ता भन्ने थाहा पाउँदापाउँदै उनलाई सुर्खेत ल्याउन तयार भएँ। मलाई लाग्यो, बिरामीको पहिलो आवश्यकता उपचार हो। यो उसको नैसर्गिक अधिकार पनि हो। उनलाई उपचारबाट वञ्चित गरिनुहुन्न।

विमान भरिभराउ भएकाले उनलाई मैले ककपिटमै राखेँ अनि सुर्खेत छोडिदिएँ। हिँड्ने बेलामा उनले फोन नम्बर पनि दिएकी थिइन्। उनको अवस्था के भयो भन्ने जान्न एक–दुईपल्ट फोन थिचेँ तर त्यो नम्बरमा फोन लागेन। बरु झन्डै पाँच वर्षपछि माओवादी शान्ति प्रक्रियामा आएपछि उनैले फोन गरिन्, शान्ति तथा पुनर्निर्माण मन्त्रीका हैसियतले।

२०६८ कात्तिकमा उनी डा.बाबुराम भट्टराई नेतृत्वको गठबन्धन सरकारमा शान्ति तथा पुनर्निर्माण मन्त्री भएकी थिइन्। पहाडी नेपाल कम्युनिस्ट पार्टीका नेता तथा जाजरकोटबाट हाल निर्वाचित सांसद् शक्तिबहादुर बस्नेतकी श्रीमती हुन्।

मध्याह्न खाराको आकाशमा उड्दा अझै दोहोरो भिडन्त रोकिएको थिएन। माओवादी छापामारहरूले ब्यारेक वरपरका अग्ला डाँडाहरूमा हेलिकप्टरलाई लक्षित गरेर लङ रेन्जका हतियार तेस्र्याएर बसेका थिए। उनीहरूको एउटै उद्देश्य कुनै पनि हालतमा हेलिकप्टरलाई सुरक्षा बेसक्याम्पमा अवतरण गर्न नदिने भन्ने थियो। थप सैन्यशक्ति र एम्युनिसन रोक्न सकिए खारा जितिन्छ भन्ने सायद तिनको बुझाइ थियो र त्यही रणनीतिमा देखिन्थे।

दुईवटा जहाजमा गोली लागिसकेका थिए। सेनाका पाइलटहरू खारा बेसक्याम्पमा हेलिकप्टर अवतरण गर्न सकिँदैन भन्ने कमजोर मनोबलमा थिए। मेरा लागि ठूलो चुनौती खडा थियो। म जुन कुनै हालतमा हेलिकप्टर खारा बेसक्याम्पमा अवतरण गर्न चाहन्थेँ।

समुद्र सतहबाट करिब ६ हजार फिट उचाइमा रहेको खारा रुकुम, सल्यान र रोल्पा जोड्ने ठाउँ हो। यसको पूर्वमा सिमरुत, पश्चिममा झुलनेटा, उत्तरमा मुरु र दक्षिणमा दलसिंग गाउँ पर्छन्। सदरमुकाम मुसिकोट खाराबाट कम्तीमा पाँच किलोमिटर पश्चिममा पर्छ।

नेपालगन्जबाट पहिले मुसिकोट एयरपोर्टमा अवतरण गरेँ। अरू हेलिकप्टर बोहोरागाउँस्थित ब्यारेकमा थिए। त्यहाँ अवतरण गर्न ठाउँ नभेटेपछि मुसिकोट एयरपोर्टमा उतारेँ, जहाँ अरू केही सैनिक अधिकारी पनि थिए।

सेनाका अधिकारीहरूले बोकेका सेट निरन्तर बजिरहेका थिए। युद्धरत सैनिकरूले थप सैन्य सहयोग माग गरिरहेको सुनिन्थ्यो।

त्रासमा रुमल्लिएकाले नजिकैको मुसिकोट बजार पनि सुनसान थियो। दोहोरो गोली हानाहान र विस्फोटनका आवाजले वातावरणलाई थप भयग्रस्त बनाइरहेको थियो।

त्यही समय मुसिकोट ब्यारेकमा रहेका पृतनापति दीपकविक्रम राणासँग सेटमै मेरो कुराकानी भयो। ‘क्याप्टेन सा’ब, अब तपाईंकै मात्र भर छ !’ उनको यस्तो आग्रह र मप्रतिको विश्वासले मलाई थप जिम्मेवारीबोध भयो।

सबैका नजर मैतिर थिए किनकि अन्तिम विकल्पका रूपमा मेरो टोलीलाई हेरिएको थियो। हामी उडिदिए हुन्थ्यो भन्ने सबैको आस थियो। अर्कोतर्फ घाइते मर्न लागे, खानेकुरा सिद्धियो, पानीको अभाव छ, एम्युनिसन थप चाहियो, नत्र माओवादीले बेसक्याम्प कब्जा गर्छ… सेटमा यस्तै चीत्कारहरू आइरहेका थिए।

मन एकदमै बेचैन थियो र आफैंलाई प्रश्न गरिरहेको थिएँ, ‘म यहाँ किन आएको ? ती सुरक्षा फौजलाई उद्धार गर्न होइन र ? के म आउनुको औचित्य पुष्टि भयो त ? ’

थुप्रै प्रश्नको काँडाले घोच्न थालेपछि मभित्र बेग्लै ऊर्जा र आँट भरिँदै आयो। अन्ततः खारा सुरक्षा बेसक्याम्पमा हेलिकप्टर अवतरण गर्न कस्सिएँ।

एरियाको ‘स्केच’ गर्दै रेन्जर फोर्सका कमान्डरहरूलाई हेलिकप्टरको दुवै साइडमा मिलेर बस्न आग्रह गरिरहेको थिएँ, त्यति नै बेला मोबाइलमा एआइजी राजेन्द्रबहादुर सिंहको फोन आयो। उनले भने, ‘अबको २०–३० मिनेटमा थप सैन्यशक्ति र एम्युनिसन पुर्‍याउन नसके माओवादीले खारा कब्जा गर्छन्। ‘ओभर रन’ हुने भयो।’ उनको कुरा सुनेपछि म झन् हतारिएँ। त्यसपछि एक मिनेट पनि समय खेर नफाली म हेलिकप्टरतर्फ बढेँ।

२० जना रेन्जर फोर्सलाई हेलिकप्टरको दुवै साइडमा बाँडिएर बस्न भनेँ ताकि हेलिकप्टर असन्तुलित नहोस्। आवश्यक एम्युनिसन लिएर म उडेँ।

सेनाका लडाकुहरूले लामो रेन्जका हतियार हेलिकप्टरको झ्यालबाट बाहिर तेस्र्याएका थिए। मैले हतियारको प्रयोग सकभर नगर्न आग्रह गरें। ‘कदाचित् माओवादीले हेलिकप्टरलाई लक्षित गरेर फायरिङ गरे भनेमात्रै प्रतिवाद गर्नुस् अन्यथा मैले उडाएको हेलिकप्टरबाट गोली नचलाउनू’ भनेको थिएँ तर तलबाट अन्धाधुन्ध गोली चलाएपछि प्रतिकारमा ती सैनिकहरूले पनि हेलिकप्टरबाट गोली बर्साउन थाले।

को–पाइलट किरण थापालाई नआइत्तिई बस्न र रेडियो सेटमा ‘मनिटर’ गर्न अह्र्राएँ तर उनलाई के कसरी अवतरण गर्दै छु भन्नेबारे विस्तृतमा भनिनँ। खारा बेसक्याम्प नजिकका डाँडाहरूमा माओवादी छापामारहरू हेलिकप्टरलाई लक्षित गरेर बसिरहेको देखेँ। त्यसैले ती डाँडाहरू नजिक हुँदै अवतरण गर्नु अत्यन्त जोखिमयुक्त हुन्थ्यो।

‘अल्फा, ब्राभो…’

यस्तै आवाजमा रेडियो सेट एकनास बजिरहेको थियो। माओवादीले सेनाको सेट लुटेर लगेकाले तिनले गरेका संवाद, गाली अनि चीत्कार पनि सुनिन्थ्यो। रेडियो सेटमा ‘चरी आयो हान्… हान्…’ भनेको आवाज पनि आइरहेको थियो।

माओवादी लडाकु हेलिकप्टरलाई ‘चरी’ भन्ने गर्थे। तल–माथि दोहोरो फायरिङ भइरहेको थियो। मैले हेलिकप्टरलाई ‘एबनर्मल एप्टिच्युड’मा लगेँ। यो भनेको जहाजको असामान्य अवस्था हो। तलबाट हेर्दा जहाज असन्तुलित झैं देखिन्छ र खस्यो भनेझैं लाग्न सक्छ। गोली तेस्र्याएर बसेका माओवादीलाई झुक्याउन मैले हेलिकप्टरलाई ‘एबनर्मल एप्टिच्युड’मा उडाएको थिएँ।

हेलिकप्टर झन्डै सात हजार फिट उचाइमा थियो। त्यो अल्टिच्युडबाट ‘भर्टिकल डिसेन्ड’ गरेर डाइभ गरेँ। ‘पावर मेन्टेन’ गर्दै हाइस्पिडमा डिसेन्ड गरेँ र ब्यारेकभित्र अवतरण गर्न सकेँ। सामान्य अवस्थामा सामान्य गतिमै अवतरण गरिन्थ्यो, अहिलेको स्पिड बढी थियो र जहाज हेलिप्याडको सीधा माथि थियो।

माओवादीले गोली हाने नै भने पनि हाई स्पिडका कारण लाग्दैन भन्ने मेरो अनुमान थियो। जुन सही साबित भयो। माओवादीका सबै प्रहार खेर गए। हेलिकप्टर बेसक्याम्पभित्र सकुशल अवतरण भयो।

रेन्जर फोर्स झटपट ओर्लिए र विभिन्न पोजिसन लिन थाले। एम्युनिसन पनि झार्न थाले। ककपिटबाट बाहिर ओर्लिने अवस्था थिएन। फोर्स र एम्युनिसन झारेर, घाइतेलाई हेलिकप्टरमा राख्दै गर्दा मैले ककपिटबाटै बाहिर नजर घुमाएँ। त्यहाँ लासहरू छरिएका थिए। हृदयविदारक अवस्था थियो। केही घाइते सुरक्षाकर्मी बोकेर म पुनः मुसिकोट एयरपोर्ट फर्किएँ।

खारामा पहिलो सफल अवतरणपछि पुनः थप फोर्स र एम्युनिसन लिएर गएँ। त्यसपछि सेनाकै अरू हेलिकप्टरले पनि अवतरण गरे। गोली लागेर ब्यारेकमा थन्किएका हेलिकप्टरको सामान्य मर्मत सम्भारपछि उडान भर्ने क्रम सुरु भयो।

घाइते ओसार्ने, थप खाद्यान्न र हतियार झार्ने काम भएपछि खारा सुरक्षा बेसक्याम्पलाई घेरेर बसेका माओवादी छापामारहरू पछाडि हटे। झन्डै डेढ सय थप कमान्डो फोर्स, हातहतियार र गोलीगठ्ठा झारिदिएपछि उनीहरू पछाडि हट्न बाध्य भएका थिए।

‘खारालाई ओभर रन हुनबाट बचाइदिनुभयो’, नेपालगन्ज फर्केपछि पृतनापति दीपकविक्रम राणाले धाप मार्दै भने, ‘हिज म्याजेस्टीका लागि एन्सरएबल भइयो।’

उनले थपे, ‘नेपाली तारा पदक सेनाले मात्रै पाउँछ, सिभिलियन भए पनि तपाईंको भूमिका सेनाका लडाकुभन्दा कम छैन। म नेपाली ताराका लागि तपाईंको नाम सिफारिस गर्छु।’

‘जर्साब, मैले पदकका लागि काम गरेको होइन। मानवीयता र देशप्रतिको आफ्नो कर्तव्य सम्झेर जोखिम लिएको हुँ। पदक चाहिँदैन।’

मेरो जवाफ सुनेर राणा थप केही बोलेनन्, काँधमा धापमात्रै मारिरहे।

एआईजी राजेन्द्रबहादुर सिंह र गृहसचिव चण्डीप्रसाद श्रेष्ठले पनि फोन गरेरै बधाई दिए।

खारा उद्धारको दुई दिनपछि म काठमाडौं फर्किएँ। प्रधानसेनापति प्यारजंग थापाले उनको सरकारी निवास शशिभवनमा ब्रेकफास्टका लागि बोलाए। उनी मेरो कामप्रति अत्यन्तै प्रफुल्लित देखिन्थे। ‘तपाईंले धेरै राम्रो काम गर्नुभयो’, उत्साहित हुँदै भन्दै थिए, ‘तपाईंको साहसिक कामले सेनाको साख जोगिएको छ।’

ब्रेकफास्टका बेला प्रधानसेनापति थापाले मेरो सुरक्षाबारे पनि सरोकार व्यक्त गरे। खाराको मेरो संलग्नताका कारण ममाथिको माओवादीको सम्भावित वैमनश्यताको आकलन गर्दै उनले शशिभवनमै बस्नसमेत आग्रह गरे। तर, मैले उनको सदाशयप्रति आभार प्रकट गर्दै आफू बाहिर पनि सुरक्षित रहन सक्ने बताएँ।

(क्याप्टेन रामश्वर थापाद्वारा लेखित “बारुदमाथि उड्दा” पुस्तकबाट साभार।

प्रतिक्रिया दिनुहोस